menu

ताजा समाचार

सम्पादकीय : विकृत मानसिकताका विरुद्ध

यस किसिमको सम्पादकीय  लेख्नु पर्दा दुखः पनि लाग्छ, पीडा पनि हुन्छ र सबैभन्दा बढी त कहाँ पुग्यो हाम्रो आन्दोलन भनेर व्यङ्ग्यले मुस्कुराउन पनि मन लाग्छ ।
 
आज राष्ट्रियता  र जनतन्त्रको प्रश्न निकै गम्भीर बनेको छ ।  साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरू तथा तिनका नेपाली दलालहरूको सबैभन्दा बढी प्रहार जनतन्त्र र राष्ट्रिय स्वाभिमानीताका पक्षमा लड्ने पात्र, माध्यम तथा सङ्गठनहरूमाथि भइरहेको छ । राष्ट्रियता र जनतन्त्रका पधरहरू एकताबद्ध हुने र मुख्य सत्रुका विरुद्ध योजनाबद्ध किसिमले लड्नुपर्ने समय हो । प्रतिक्रियावादी तत्त्वहरू त भइहाले, यो उनीहरूको वर्गचरित्र नै हो ।  यहाँ त आफूलाई क्रान्तिकारी भन्नेहरूले पनि यस मामिलामा प्रतिक्रियावादीहरूसित प्रतिस्पद्र्धा गर्नथालेका छन्  ।  प्रतिक्रियावादीहरूलाई समेत उछिनेर राष्ट्रिय स्वाधीनता, जनतन्त्र र क्रान्तिकारी माओवादी आन्दोलनमा प्रतिबद्धताका साथ लागेका पात्र तथा माध्यमहरूका  विरुद्ध मोहन बैद्यले नेतृत्व गरेको माओवादी समूहको अनलाइन प्रकाशन ‘मूलबाटो’ लाग्नुबाट यो यथार्थ पुष्टि हुन्छ । आफूलाई क्रान्तिकारी र जिम्मेवार पार्टी ठान्ने पार्टीको प्रकाशनमा आन्दोलनमा लागेको व्यक्तिमा केन्द्रित भएर त्यसरी चरित्र हत्या गर्ने समाचार र लेख आउनु कतिसम्म उचित हुन्छ भनेर प्रश्न उठ्नु स्वाभाविक छ । साथै पत्रकारिताको दृष्टिले पनि यस किसिमको समाचार र लेख कतिसम्म उचित हुन्छ भन्ने कुरा पनि आफैँमा प्रश्नको विषय बनेको छ ।

‘मूलबाटो’  अनलाइनमा जेठ २० मा एस. के. त्रियाठी नामले  ‘को हो प्रतिक्रियावादी ?’  शीर्षकको लेख छापिएको छ र यो लेख वैचारिक दृष्टिकोणले मात्र नभएर पत्रकारिताका दृष्टिले पनि  घोर आपत्तिजनक छ र यसको जति निन्दा तथा भत्र्सना गरे पनि कम हुन्छ । यसलाई असन्तुलित र प्रदूषित मानसिकताको उपज भन्न सकिन्छ । साथै जिम्मेवार पार्टीको जिम्मेवार प्रकाशनमा नक्कली नाममा आएको यस किसिमको लेखनलाई  वैचारिक सामना गर्न नसकेर आएको आतङ्कित र विद्रूप मानसिकताको उपज पनि भन्न सकिन्छ । यो खास पात्रको नाममा आएको भए पनि यसलाई ‘मूलबाटो’ र त्यसलाई सञ्चालित गनै सिङ्गो टिमको योजनाबद्धताको उपज भन्न सकिन्छ । यो नामको  पात्रले पहिले पनि यसरी लेखेको र लेख्नेको नाम सार्वजनिक भइसकेको अवस्थामा उनको परिचय खुलाउनु आवश्यक छैन । आफ्नो क्षेत्रमा ‘टपरे’ नामले परिचित यी पात्रको “किरणको पौष्यपुत्र’ भनेर पनि व्यङ्ग्यले नाम लिने गरिन्छ । खासगरेर पत्रिकारिता र सांस्कृतिक क्षेत्रका कर्मीहरू यसप्रति भलिभाँती जानकारी राख्छन् । पात्र जिम्मेवार भए पनि पार्टीको प्रकाशनमा प्रकाशित सामग्री भएकाले यसको सम्बन्ध पार्टीसित जोडिनु स्वाभाविक छ । र यसको उत्तर पनि सम्बद्ध पक्षबाट खोजिनु आवश्यक हुन्छ । यो सामग्रीको प्रकाशनले सम्बद्ध पार्टीको प्रकाशन पक्षको स्थिति र गति मात्र नभएर सो पार्टी कुन दिशातिर जाँदैछ भनेर पनि आकलन गर्न सकिन्छ ।

'जनमेल' विश्वक्रान्तिकारी आन्दोलनबारे वैचारिक खुराकी दिने माध्यम हो । यसले विश्व माओवादी आन्दोलनबारे सामग्री प्रदान गर्छ र वैचारिक बहस-छलफलमा जोड दिन्छ । वैचारिक बहसछलफलप्रति रुचि नराख्नेहरू र विगतको इतिहास च्यापेर वर्तमानका  हीनत्वभाव र कुण्ठाग्रस्त मानसिकता बोकेर बाँचेकाहरूको 'जनमेल' प्रति रुचि नहुनु अथवा यसप्रति असहिँष्णु प्रदर्शन हुनु अस्वाभाविक छैन । 'जनमेल' माथि आरम्भदेखि नै कहिले कुन कोणबाट र कहिले कुन कोणबाट प्रहार भएको हो । 'जनमेल' मालेमामा विश्वास  गर्छ,  नयाँ जनवादी क्रान्तिका विश्वास गर्छ र जे जे नाम दिए पनि अन्ततः नेपाली क्रान्तिले नेपाली विशिष्टताको जनयुद्धको बाटो नसमाती धरै छैन भन्ने कुरामा विश्वास गर्छ । 'जनमेल' ले यस किसिमको बाटोप्रति सहभाव जनाउनेहरूप्रति सद्भाव राख्छ र गलत कुराप्रति आलोचनात्मक भाव राख्छ । आलोचना सहन नसक्नेहरूले, गल्ती सच्याउन अग्रसर हुन नमान्नेहरूले आफूलाई मार्क्सवादी नभने हुन्छ ।

'जनमेल' ले आफ्नो आलोचना नगरोस् र गुनगान मात्र गाइदेवस भन्ने कसैको चाहना हुनसक्छ l परन्तु, 'जनमेल' हनुमान चालिसा होइन र बन्न पनि सक्तैन । अलोचनात्मक टिप्पणी गर्दा अथवा यो आफ्नो ‘हनुमान चालिसा’ बनोस् भन्ने चाहना पूरा नहुँदा 'जनमेल' र   यसको टिम विरुद्ध, त्यसमा पनि यसका सल्लाहकार डा. ऋषिराज बरालका विरुद्ध जथाभावी लेख्ने र चरित्र हत्या गर्ने काम पहिले पनि भएका हुन् । गजबको असहिँष्णुता र घीनलाग्दो संस्कृतिबाट नेपालको माओवादी आन्दोलन ग्रस्त देखिन्छ । वैचारिक प्रश्न उठायो कि  भौतिक रूपबाट नै प्रहार गर्ने र  जनकारबाही गर्ने धम्की आउँथे पहिलेपहिले ।  फेसबुक 'जनअदालत' बनेर आउँथ्यो । खासगरेर मार्क्सवादको राम्रो ज्ञान नभएका उत्तौला र  आलाकाँचा ठेट्नाबाट यस्ता कुरा आउँथे ।  तिनले आफूलाई नेत्रविक्रम चन्दले नेतृत्व गरेको समूहको क्रान्तिकारी दस्ताका रूपमा आफूलाई प्रस्तुत  गर्थे/ गर्छन् । यसमा नेताहरूको सहयोग र सहभागिता कति थियो भन्न सकिँदैन तापनि  ‘मूलबाटो” को जस्तो आधिकारिक माध्यमबाट विभत्स रसको प्रस्तुतिचाहिँ त्यहाँ पाइएको छैन । बैद्य समूहको प्रकाशनले अहिले जसरी चरित्र हत्या र विकृत मानसिकताको प्रदर्शन गर्यो , यो बडो गम्भीर र  आपत्तिजनक विषय हो । यसले बैद्य समूहमा कस्ताकस्ता पात्रहरू नीति निर्माणस्थलमा पुगेका रहेछन् र केकस्ता पात्रहरूमार्फत माध्यमहरू चलेका रहेछन् भन्ने कुरा चाहिँ सबैले बुझ्ने गरी छर्लङ्ग भएको छ ।  वास्तवमा 'मूलबाटो' को त्रिपाठीको लेख कमरेड किरणकै विरुद्धमा पनि हो l  यसमा जुन पात्रको चरित्र हत्या गरिएको छ, त्यो पात्र किरण कमरेड्कै इन्चार्जसिपमा करिब तीन दसक काम गरेको पात्र हो  l

'जनमेल' कसैको मुखपत्र होइन र यो कसैको ‘हनुमान चालिसा’ पनि होइन । यसले राम्रा कुरा जुनसुकै समूहको   पनि सराहना गर्छ र नराम्रा कुराको आलोचना र टिप्पणी गर्छ । तिनका अर्थ न बर्थका नीति, योजना र कार्यक्रमको गीत गाउँन बाध्य छैन- 'जनमेल' । सबैले देख्ने/ देखिने गरी कोही नाङ्गै सडकमा हिँड्छ भने टिप्पणीको विषय बन्नु स्वाभाविक हुन्छ । हिजोको कसैको इतिहासका आधारमा आजका उसका कमजोरीको सराहना गर्न सकिँदैन । चेलामाथि प्रहार गर्दा गुरुको छाती दुख्छ भने त्यसको जिम्मेवार 'जनमेल' हुन सक्तैन । नाम जतिसुकै सम्मानित किन नहोस्, आफ्नै इतिहास जोगाउन नसक्ने नेताहरू इतिहासमा थन्किन्छन्।   सूचना र सञ्चारका क्षेत्रमा रहेका आफ्ना कमजोरीलाई ढाक्न अरूमाथि हिलोछ्याप्नु र चरित्र हत्या गर्नु मार्क्सवादको परिभाषाभित्र  पर्दैन । यो त प्रतिक्रियावादी चरित्र हो ।

‘ मूलबाटो’ मा त्रिपाठीका नाममा जे आयो, त्यो विकृत चिन्तनको उपज हो–एक हिसाबले अपराधपूर्ण कार्य । क्रन्तिप्रति समर्पण र त्यागको इतिहास बोकेको पात्रका विरुद्ध 'मूलबाटो'  जसरी  प्रस्तुत भयो, यो सारत: अपराध नै हो, विम्ब विद्रूपीकरणको घीनलाग्दो उदाहरण । यस किसिमको अपराधको उपचारका लागि पहिले ‘राची’ लानुपर्ने कुरा गर्थे, आभभोलि त्यसको उपचार यतै खोज्ने गरिन्छ । कतिपयले यसको सही उपचार  प्रेस काउन्सिल हो भने र कतिपयले प्रहरी पनि हो भने । तर 'जनमेल' यी सबैभन्दा असली र सही उपचार जनताबीच जानु हो भन्ने ठान्छ । जनअदालतले नै यसको छानबिन र फैसला गरोस् भन्ने ठान्छ ।  ‘मूलबाटो’ अनलाइन मात्र नभएर समूह पनि भएकाले यसको सही  उपचार जनताबीच गएर नै हुन्छ ।

कामना गरौँ, ‘मूलबाटो’ का नाममा कु बाटोको अभ्यास गर्नेहरूले  आफूलाई सच्याउनेछन्  । होइन भने सो समूहले लडाइँको  मोर्चा खोलेछ  भनेर बुझ्नुपर्छ । र कसरी लड्नुपर्छ मोर्चा भन्ने कुरा हामीलाई पनि थाहा छ । हामी वैचारिक  बहस र छलफललाई प्रोत्साहित गर्छौ, तर यसका विरुद्ध कोही कुरूप हतियार लिएर हामीमाथि प्रहार गर्छ भने त्यसको उत्तर कसरी दिनुपर्छ,  त्यो हामीलाई थाहा छ । हामी निष्कर्ष निकाल्न बाध्य हुनेछौं-पेरिस डाँडाको शाखा कार्यालय बुद्धनगरमा पनि रहेछ भनेर ।

माओले “प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन” भन्नु भएझैँ विसर्जनवादीहरूबाट प्रहार नराम्रो होइन भन्दै हामी अघि बढ्छौँ । यो मुद्दा अब जनताको बीचमा पुगेको छ । सत्यको बाटो हिँडदा केही समय एक्लै भइएला । तर हामीले राष्ट्रिय स्वाधीनता र  जनतन्त्रको झण्डा बोकेका छौं ।  त्यसैले हामीलाई विश्वास छ, यो लडाइंमा हामी एक्लै हुने छैनौँ । बैद्य समूहले 'मूलबाटो' मार्फत मोर्चा खोल्यो । हामीलाई स्वीकार्य छ । मार्क्सवाद-लेनिनवाद-माओवाद: जिन्दावाद ! नयाँ जनवादी क्रान्ति जिन्दावाद ! सबैखाले अवसरवाद र विसर्जनवाद मुर्दावाद !
०००

भिडियो फिचरview all