
बैद्य समूहले सशस्त्र सङ्घर्षको बाटो त्याग्ने

चुनावी राजनीतिप्रति अलि बढी नै मोह राख्ने र मिलेरावादी चिन्तन भएको भनी विगतमा पनि पार्टीमा निकै टीकाटिप्पणीको विषय बन्ने गरेका गजुरेलले मुलकमा अहिले द्वन्द्वको अवस्था नरहेको र आफूहरू पनि अब सशस्त्र सङ्घर्षमा नजाने अभिमत जाहेर गरेका छन् । 'रिपोर्टस क्लब नेपाल' का ऋषि धमलासितको कुराकानीमा उनले भनेका छन् :
''जनता अहिले हतियार र द्वन्द्वको पक्षमा छैनन् भन्ने कुरा हामीले बुझेका छौँ । अब सशस्त्र द्वन्द्व हुने अवस्था पनि छैन ।अब हामी निर्वाचनमा गएर जनतालाई कुरा बुझाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।''
प्रतिक्रियावादीहरू वर्गअन्तर्विरोध र वर्गसङ्घर्ष पदावली प्रयोग गर्न मन पराउँदैनन्, उनीहरू गहन र महत्त्वपूर्ण सारतत्त्व बोकेको ‘वर्गसङ्घर्ष’ पदावलीलाई ‘द्वन्द्व’ मा सीमित गरेर न्यूनीकरण गर्दछन् । यो उनीहरूको चरित्र हो । क्रान्तिकारीहरूका लागि भने वर्गीय प्रश्न र वर्गसङ्घर्ष पदावलीहरूले अहम् महत्व राख्दछन् । यहाँ गजुरेललाई पनि वर्गसङ्घर्षभन्दा “द्वन्द्व” शब्दप्रति मोह जागेको देखिन्छ । सिङ्गो सम्बादमा जे-जस्ता धारणा आएका छन्, यसबाट यो पदावली र व्यक्त विचार नापीतौली, योजनाबद्ध रूपमा आएका हुन् भनेर बुझन् सकिन्छ ।
उनले जसरी जनता अब हतियार उठाउने स्थितिमा छैनन् भनेर ठोकुवासाथ भनेका छन् र मुलुकमा “सशस्त्र द्वन्द्व” हुने अवस्था पनि छैन र चुनावबाट नै जनतालाई बुझाउनुपर्छ भनेर जसरी चुनाव नै सबथोक हो भन्ने किसिमले विचार व्यक्त गरेका छन्, यसले गम्भीर प्रश्न उठाउनु स्वाभाविक छ । यसबाट सो पार्टीले अब सशस्त्र सङ्घर्षको बाटो परित्याग गर्न थालेछ भनेर निष्कर्ष निकाल्नु पनि स्वाभाविक हुन्छ । यसै हो भने यो गम्भीर विचलनको द्योतक हो ।
पार्टीहरूको आत्मतग स्थिति कमजोर भए पनि सशस्त्र सङ्घर्षका लागि मुलुकको वस्तुगत स्थिति सकारात्मक छ भन्ने ठहर क्रान्तिकारीहरूको हो । आत्मगत स्थिति आफसेआफ नबनेर यसका लागि सचेतन प्रयास आवश्यक पर्छ भन्ने मार्क्सवादी बुझाइ हो । स्वस्फूर्ततावादीहरू स्थिति अनुकूल होला र क्रान्ति गरौंला भने कपाल फुलाउँछन्, क्रान्तिकारीहरू सचेतन प्रयासद्वारा प्रतिकूल परिस्थितिलाई अनुकूलतामा फेर्छन्/फेर्ने प्रयास गर्छन् । यहाँ मुलुकको वस्तुगत स्थिति वर्गसङ्घर्षका लागि उपयुक्त छैन र जनता पनि यो चाहँदैनन् चुनावबाटै अहिलेको अन्तर्विरोध हल हुनसक्छ भनेर क्रान्तिको आवश्यकता र औचित्यलाई नै खारेज गर्दै भनिएको छ : ''अब हामी निर्वाचनमा गएर जनतालाई कुरा बुझाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छौँ '' । यस किसिमको निष्कर्षले बैद्य समूहले पनि एमाले र प्रचण्डले समातेको संसदीय बाटो लिने अठोट गरेछ भनेर निष्कर्ष निकाल्नु स्वाभाविक हुन्छ ।
पार्टीका वरिष्ठ नेताले भनेको कुरालाई केही होइन भनेर अस्वीकार गर्न सकिने स्थिति छैन ।
भिडियो फिचरview all