menu

ताजा समाचार

कमरेड रामवृक्ष यादव स्मृति सन्दर्भ

कमरेड रामवृक्ष यादवको स्मृतिसन्दर्भ 

यतिखेर हामी कमरेड  रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ  मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।  आजभन्दा ३० वर्षअघि अर्थात् २०५१  साल भदौ २ गते, फासिवादी काङ्ग्रेसी सरकारद्वारा निर्देशित  गुन्डाहरूद्वारा  धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको थियो  । यस घडीमा हामी सबैभन्दा पहिले महान क्रान्तिकारी योद्धा, नेपालको कम्युनिस्ट आन्दोलनका अगुवा कमरेड रामवृक्ष यादवप्रति श्रद्धान्जली अर्पण गर्दछौं ।

महान दसबर्से जनयुद्धको तयारीको अगुवाइ गर्ने कमरेडहरूमध्येका एक कमरेड रामवृक्ष यादवप्रति हामीले जेजति सम्झना र सम्मान गर्नुपर्ने थियो, त्यसो गर्न सकेका छैनौं  । सम्झना पनि औपचारिकता मात्र भएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि तराईका जनता र बलिदानको  चिप्ला कुरा गर्ने,  तर बलिदानको सम्मान गर्नुपर्ने र मूल्यबोध गर्नुपर्ने बेलामा परिवारवाद र उपभोक्तावादमा फसेका पार्टी  र नेताहरूका लागि रामवृक्ष यादव अब सन्दर्भहीन बन्न पुग्नु कुनै आश्चर्यको विषय भएन । त्यसमा पनि  रामवृक्षका  हत्याराहरूसित घाँटी जोडेर राष्ट्रघात र जनघातको मतियार बनेका प्रचण्ड र उनको समूहका लागि कमरेड रामवृक्ष असान्दर्भिक बन्नु अनौठो कुरा होइन  । कमरेड रामवृक्षका नाममा उनीहरूले गर्ने गतिविधि कमरेड रामवृक्षको अपमानसिवाय केही होइन । 
 
राष्ट्रिय स्वाधीनता र जनतन्त्रका  पक्षमा लडिरहेका समग्र नेपाली जनताले भने आफ्नो अन्तिम लक्ष्य प्राप्त नगरुन्जेलसम्म वहाँलाई सम्झिरहनु पर्छ, उहाँलाई आफ्नो छातीमा अंकित गरिरहनु पर्छ   भन्ने मूल्यबोध गरेका छन् । हाम्रा सामु रामवृक्ष यादव सदैव  वैचारिक प्रेरणा र प्रतिबद्धताका अगुवाका रूपमा रहिरहनु हुनेछ । वहाँ  खास क्षेत्र वा समुदायका मात्र नेता नभई, मुक्तिका लागि लडिरहेका समग्र नेपालीका अगुवा नेता हुनुहुन्थ्यो । त्यसैले उहाँको  सम्झना गर्नु भनेको क्रान्तिप्रति थप प्रतिबद्धता जनाउनु हो, बलिदानको नयाँ बाटोमा अघि बढ्न दृढ सङ्कल्पित हुनु  हो ।

स्थिति हिजोको भन्दा झन् जटिल बन्दै गइरहेको छ  । दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने नयाँ-पुराना दलालहरूको पार्टी अहिले सरकारमा छ  । 'वाम'  र 'लोकतन्त्रवादी' सरकारका नाममा  प्रतिक्रियावादी सत्ताको अभ्यास गर्दै  यसले जनतामा ठूलो भ्रम दिइरहेको छ । महँगी,  भ्रष्टाचार  र आर्थिक  बोझको असह्य पीडा खप्न जनता वाध्य छन् राष्ट्रिय आत्मसमर्पण र दलाली यसका सार्वभौम चरित्र हुन् ।

स्थितिले नयाँ किसिमको आन्दोलनको माग गरेको छ ।  उत्पीडित जनतामा  नयाँ किसिमले विश्वास जगाउनुपर्ने आवश्यकता छ l  एकातिर सत्ताधारीहरूका विरुद्ध संयुक्त आन्दोलनको आवश्यकता छ भने अर्कोतिर गद्दारहरूले भताभुंग र लथालिंग पारेको माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठन गरेर अघि बढ्नुपर्ने  दायित्त्व पनि क्रन्तिकारीकारीहरूका सामु उपस्थित छ ।

राष्ट्रिय स्वाधीनता र जनतन्त्रको प्रश्न जटिल बन्दै जानुका साथै  नयाँ-पुराना प्रतिक्रियावादी शक्तिहरूबीच ध्रुवीकरण बढदै जानुले क्रान्तिकारी शक्तिहरूका सामु  नयाँ चुनौती उभिएको यथार्थप्रति  क्रान्तिका पक्षधरहरू  प्रस्ट हुनु आवश्यक छ । यस  यथार्थलाई आत्मसात गरी मार्क्सवाद- लेनिनवाद-माओवादप्रति प्रतिबद्ध नयाँ जनवादी क्रान्तिका पक्षधरहरू इतिहासको वैज्ञानिक समीक्षा गर्दै नयाँ  किसिमले  पुनर्गठित  हुनु अहिलेको टडकारो आवश्यकता हो । यसैमा  नै कमरेड रामवृक्ष यादवप्रति श्रद्धा र सम्मान  जाहेर गर्नुको सार्थकता निहित छ । आउनुहोस्, कमरेड  रामवृक्ष यादवको वर्गचेत, भविष्यदृष्टि, समर्पणभाव र  बलिदानी मूल्यलाई  आत्मसात गरौं ।

ऋषिराज बराल
संयोजक
क्रान्तिकारी बौद्धिक- सांस्कृतिक मंच, नेपाल 
भदौ २, २०८२ 

भिडियो फिचरview all