
सङ्गठन, सङ्घर्ष र ध्रुवीकरण सम्बन्धी महत्वपूर्ण निर्णयका साथ नेकपा (क्रान्तिकारी माओवादी) को बैठक सम्पन्न

बैठकले मूलतः सङ्गठन, सङ्घर्ष र नयाँ जनवादी क्रान्तिका पक्षधरहरूबीचको ध्रुवीकरणको प्रक्रियालाई जोड दिएको कुरा विज्ञप्तिबाट थाहा हुनआउँछ ।
विज्ञप्तिमा कामको प्रकृति र आवश्यकता हेरेर कतिपय क्षेत्रमा जिम्मेवारी हेरफेर गरिएको भनिएको छ भने आगामी चैतदेखि सङ्घर्षका कार्यक्रमलाई तीव्र बनाएर लैजाने र सङ्घर्षले आम हडतालको चरित्र पनि लिनसक्ने कुरा उल्लेख गरिएको छ ।
सङ्गठनका सम्बन्धमा :
गत वर्ष असोजमा पोखरामा भएको राष्ट्रिय सम्मेलनले सङ्गठनका सम्बन्धमा ५ ओटा बुँदा, सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनैपर्ने, एनजिओ/आइएनजिओमा संलग्न हुन नहुने, पार्टीले जहाँ खटायो त्यहाँ जानैपर्ने, केन्द्रीय समिति सदस्य हुन १० वर्ष निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुपर्ने र बैचारिक, राजनीतिक तथा सांगठनिक स्पष्टता हुनैपर्ने जस्ता आधारहरू अघि सारेर महत्वपूर्ण निर्णय गरेको थियो ।
सम्मेलनलेउमेरजन्य स्थितिका साथै विविध कारणले पार्टीमा सक्रियताका साथ लाग्न नसक्नेहरू र पूर्णकालीन नेताका रूपमा जिम्मेवारी लिन नसक्ने पोलिटब्युरो तथा केन्द्रीय नेतालाई स्वविवेकले जिम्मेवारीबाट हट्न पनि आह्वान गरेको थियो । तर यो निर्णय समग्ररूपमा लागू हुन सकेको थिएन । साथै पार्टीमा रिक्त पोलिटब्युरोलगायत केन्द्रीय समितिमा पनि थपघट हुन सकेको थिएन । तर अब यो निर्णयलाई दृढताका साथ लागु गरेर सङ्गठनात्मक शुद्धीकरण तथा सुदृढीकरण अभियानलाई दृढताका साथ अघि बढाउने निर्णय भएको कुरा थाहा हुन आएको छ ।
सङ्घर्षका सन्दर्भमा :
राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका मुद्दाहरूलाई लिएर विविध योजना बनाउने तर, त्यसलाई दृढता र गतिशीलताका साथ व्यवहारमा लैजान क्रियाशीलता र ततत्परता नदेखाउने भनेर वारम्बार आलोचित भइरहेको नेकपा (क्रान्तिकारी माओवादी) को यसपल्टको बैठकमा पनि सङ्घर्षका केही विशिष्ट कार्यक्रमहरू तय भएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका मुद्दाहरूमा भरिसक्के अन्य समूहसित समेत कार्यगत एकता गरेर अघि बढ्ने र यस्तो स्थिति बन्न नसकेको अवस्थामा पार्टी र पार्टीको मोर्चा देजमोमार्फत सङ्घर्षलाई अघि बढाउने निर्णय भएको कुरा पनि थाहा हुन आएको छ । सङ्घर्षका कार्यक्रमहरूमा आम हडतालसम्म जान सकिने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सङ्घर्षलाई गतिशील र जुझारु बनाउन युवा मोर्चालाई थप गतिशील र क्रियाशील बनाउने कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एकता तथा ध्रुवीकरणका सम्बन्धमा :
प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि विचार मिल्नेहरूसित एकता गर्ने तथा त्यस किसिमको अवस्था सिर्जना नहोउन्जेल सहकार्यलाई अघि बढाउने कुरामा त्यति बेलाको नेकपा–माओवादीले जोड दिँदै आएको थियो । विचार मिल्नेहरूबीच एकता तथा सहकार्यका प्रक्रिया चलिरहेको अवस्थामा पहिले विप्लव समूहको रहस्यमय बहिर्गमन र पछि बादल समूहको पलायनपछि यो प्रक्रियामा शिथिलता आएको थियो ।
एकताका नाममा प्रचण्ड समूह नेकपा (एमाले) मा विलय भएपछि सो गठबन्धन समूहले आफूलाई नेपालका वामपन्थीहरूको मूल धार र कम्युनिस्टहरूको केन्द्रका रूपमा प्रस्तुत गरेर जनताबीच भ्रम उत्पन्न गरिरहेको अवस्था थियो । यसबाट क्रान्तिकारीहरूका सामु क्रान्तिकारीहरूलाई गोलबद्ध गरेर क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्नु पर्ने नयाँ चुनौती थपिनु स्वाभाविक थियो ।
यसै क्रममा नेकपा (क्रान्तिकारी माओवादी) र ‘पुनर्गठित कम्युनिस्ट न्युक्लिअस नेपाल’ ले केही प्रयास गरेका पनि हुन् । खास गरेर नेकपा (क्रान्तिकारी माओवादी) ले आक्तोबर दिवस मूलत: गत साल माओ दिवसदेखि नै यो प्रयासलाई घनिभूत रूपमा जारी राखेको थियो । खास गरेर माओवाद र नयाँ जनवादी क्रान्ति मान्नेहरू र जनयुद्धको विरासतसित जोडिएकाहरूबीच औपचापरिक-अनौपचारिक बैठकहरू पनि भएका थिए । तर विविध कारणावस एकताको प्रक्रियाले आकार लिन सकेको थिएन ।
थु्प्रै कुरामा अस्पष्ट रहे पनि, खास गरेर माओवादमान्ने र जनयुद्धको विरासतसित जोडिएको कारण बिप्लव समूहसितको एकता प्रक्रियालाई नेकपा (क्रान्तिकारी माओवादी) ले बढी जोड दिएको देखिन्थ्यो । तर बिप्लव समूहका रहस्यमय गतिविधि, एकता विरोधी लेखाइ र बुझाइ, वैचारिक तथा राजनीतिक पक्षमा विचलनयुक्त चिन्तन, कार्यदिशागत बुझाइमा रहेको अन्यौलताका कारण उसितको एकता प्रक्रिया अघि बढ्न सकेको थिएन । खासमा एकताका नाममा बिप्लव समूहको नियत नै खराब थियो । यसरी एकताएकता भने पनि एक हिसाबले एकता वार्ता बिचमै हराइसकेको थियो । यो यथार्थलाई बुझेपछि नै ऊ नयाँ निर्णयमा पुगेको हुनसक्छ ।
बुटवल बैठकको निर्णयको स्पिरिट एकता भन्दा ध्रुवीकरणमा रहेको कुरा बोध गर्न सकिन्छ । वास्तवमा बुटवल बैठकले बिप्लव समूहसितको एकतालाई पूर्णविराम लगाएको यथार्थ बुझ्न सकिन्छ ।
भिडियो फिचरview all